आधारभूत पुस्तकालय तालिम सम्पन्न

नेपाल राष्ट्रिय पुस्तकालयले श्री राष्ट्रिय पुस्तकालय केराबारी-१० मोरङको समन्वय र केराबारी गाउँपालिकाको सहयोगमा २०८२ जेठ २७ देखि जेठ ३१ सम्म श्री राष्ट्रिय पुस्तकालय केराबारीमा आधारभूत पुस्तकालय व्यवस्थापन तालिमको आयोजना गरेको छ।

५ दिनसम्म सञ्चाचालित सो तालिममा पुस्तकालयमा कार्यरत जनशक्तिको पुस्तकालय सम्बन्धी क्षमता विकास गर्ने उद्देश्यले तालिमका विषयवस्तुको चयन गरिएको थियो । तालिमको सन्दर्भमा पुस्तकालयको परिचय, पुस्तक तथा पत्रिका दर्ता, पुस्तक वर्गीकरण, सूचीकरण, पुस्तक लेनदेन एवम् सन्दर्भ सेवा जस्ता पुस्तकालयले प्रदान गर्ने सेवा, विद्युतीय पुस्तकालय, पाठ्यसामग्रीको संरक्षण सम्बर्धन लगायतका विषयमा सैद्धान्तिक कक्षा तथा व्यावहारिक अभ्यास गराइएको थियो । श्री राष्ट्रिय पुस्तकालयमा सञ्‍चालन गरिएको सो तालिममा पुस्तकालयका सामग्री प्रयोग गरी व्यावहारिक अभ्यास गराइएको थियो।तालिममा नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख श्री प्रदीप भट्टराई र पुस्तकालय सहायक श्री संजीव कुमार चौधरीले तालिममा सहजीकरण गर्नु भएको थियो।

श्री राष्ट्रिय पुस्तकालय र केराबारी गाउँपालिकाका विभिन्न विद्यालय पुस्तकालयमा कार्यरत शिक्षक तथा कर्मचारी गरी जम्मा २० जनाको सहभागितामा सञ्चालित सो तालिमको उदघाटन कार्यक्रम केराबारी गाउँपालिका वडा नं १० का वडा सदस्य श्री मिथुन देवानज्यूको प्रमुख अतिथ्यतामा सञ्‍चालन गरिएको थियो भने तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम केराबारी गाउँपालिकाका अध्यक्ष श्री सुमन मिरिङचिङ मगरज्यूको प्रमुख आतिथ्यतामा भएको थियो । श्री राष्ट्रिय पुस्तकालयका अध्यक्षको सभापतित्वमा भएको कार्यक्रममा केराबारी गाउँपालिका वडा नं. १० का वडाध्यक्ष श्री सुमन मिरिङचिङ, पुस्तकालय उपाध्यक्ष, सचिव लगायत अन्य समाजसेवी व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।