पुस्तकालयको ६९ औँ वार्षिकोत्सव सम्पन्न

पुस्तकालयको ६९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ पुष १९ गते शनिबारका दिन नेपाल राष्ट्रिय पुस्तकालयको ६९औँ वार्षिकोत्सव कार्यक्रम पुस्तकालय परिसर सानोठिमीमा सफलतापूर्वक मनाइएको छ । नेपाल राष्ट्रिय पुस्तकालयका पूर्व प्रमुख श्री दशरथ थापाज्यूको प्रमुख आतिथ्यता एवम् पुस्तकालय प्रमुख श्री प्रदीप भट्टराईको अध्यक्षतामा पुस्तकालय परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथिबाट डिजिटल ब्यानर डिस्प्ले तथा डिजिटल पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गरिएको सो कार्यक्रममा विभिन्न सरकारी पुस्तकालयका प्रमुख तथा प्रतिनिधि, पुस्तकालयकर्मीहरू, पुस्तकालयका पूर्व कर्मचारी तथा शिक्षक एवम् पुस्तकालयप्रेमीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल राष्ट्रिय पुस्तकालयमा कार्यरत कर्मचारीमध्ये पुस्तकालय अधिकृत श्री रबिन श्रेष्ठले पुस्तकालयलाई पुर्‍याउनु भएको योगदानको कदर गर्दै वहाँलाई यस वर्षको उत्कृष्ट कर्मचारीको रूपमा प्रशंसापत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसैगरी कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरूलाई पुस्तकालयको तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव श्री प्रेमराज अधिकारीले भविष्यमा पुस्तकालयले सेवा विस्तार गर्न सकोस् एवम् यसको अवस्थामा समेत सुधार आओस् भन्नुभयो । यसैगरी नेपाल राष्ट्रिय पुस्तकालयका पूर्व कर्मचारी एवम् नेपाल पुस्तकालय संघका पूर्व अध्यक्ष श्री भोला कुमार श्रेष्ठले पुस्तकालयको विगत र वर्तमान अवस्थाको बारेमा बताउँदै पुस्तकालयको भवन निर्माण गर्नुपर्ने कुरामा जोड दिनुभयो । नेपाल पुस्तकालय संघका अध्यक्ष श्री पुष्पराज सुवेदीले आधुनिक पुस्तकालय सेवा प्रदान गर्ने तर्फ जोड दिँदै पुस्तकालय क्षेत्रको विकासका लागि पुस्तकालय ऐन एवम् पुस्तक नीति पारित गरी अविलम्ब कार्यान्वयन तर्फ जानु पर्ने कुरा बताउनु भयो। त्यस्तै नेपाल राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय र डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयका सङ्ग्रहलाई समेटेर शुरू गरिएको राष्ट्रिय विद्युतीय पुस्तकालय (National Digital Library) को बारेमा समेत आफ्ना कुरा राख्‍नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् पुस्तकालयका पूर्व प्रमुख श्री दशरथ थापाले पुस्तकालयको महत्वको बारे बताउँदै यस पुस्तकालयको विकासमा सबै मिलेर अगाडि बढ्नु पर्ने कुरा बताउनु भएको थियो ।

कार्यक्रममा पुस्तकालय प्रमुख श्री प्रदीप भट्टराईले नेपाल राष्ट्रिय पुस्तकालयबाट एक वर्षमा सम्पन्न भएका गतिविधिहरू समेटिएको प्रस्तुति समेत गर्नुभएको थियो ।  

सो कार्यक्रममा विभिन्न पुस्तकालयमा कार्यरत कर्मचारी, पाठक तथा अन्य सरोकारवाला गरी जम्मा ५० जनाको उपस्थिति रहेको थियो ।

देशमा राष्ट्रिय पुस्तकालयको महत्वको बोध गरी तत्कालीन सरकारले राजगुरू हेमराज पाण्डेको निजी संग्रह खरिद गरी वि.सं. २०१३ पुष १९ गते नेपाल राष्ट्रिय पुस्तकालयको स्थापना गरेको थियो । सोही दिनलाई स्मरण गरी विगत केही वर्षदेखि यस पुस्तकालयको वार्षिकोत्सव मनाइने गरेको छ ।