पुस्तकालयकर्मीको क्षमता अभिवृद्धिका लागि प्रदेशस्तरीय आधारभूत पुस्तकालय व्यवस्थापन तालिम सम्पन्न
राष्ट्रिय पुस्तकालय, सानोठिमी, भक्तपुर तथा किरण पुस्तकालय, तम्घास, गुल्मीको संयुक्त आयोजनामा पुस्तकालय तथा सूचना व्यवस्थापन सम्बन्धी ५ दिने आधारभूत पुस्तकालय व्यवस्थापन तालिम लुम्बिनी प्रदेशको तम्घास, गुल्मीमा सम्पन्न भएको छ।
सामुदायिक तथा सार्वजनिक एवम् शैक्षिक पुस्तकालयमा कार्यरत कर्मचारी तथा पुस्तकालयकर्मीलाई पुस्तकालय व्यवस्थापन सम्बन्धी आधारभूत ज्ञान र सीप प्रदान गर्नुका साथै यो क्षेत्रमा आधुनिक प्रयोगमा रहेको आधुनिक प्रविधिको प्रयोगबारे अभिमुखीकरण गराउने उद्देश्यले आयोजित सो कार्यक्रम किरण पुस्तकालय, तम्घास, गुल्मीमा २०८३ जेठ १८ गतेदेखि २०८३ जेठ २२ गतेसम्म सञ्चालन गरिएको थियो।
तालिमको क्रममा पुस्तकालयको अवधारणा, पुस्तकालय व्यवस्थापनका आधारभूत सिद्धान्तहरू, वर्गीकरण सूचीकरण, पुस्तकालय सेवा, पुस्तकालय सामग्री, फर्निचर, बजेट जस्ता विषयवस्तुका साथै पुस्तकालयमा सूचना प्रविधिको प्रयोग, ई-पुस्तकालय व्यवस्थापन, आधुनिक पुस्तकालयको चुनौती र समाधानलगायतका विषय समेटिएका थिए ।तालिमको क्रममा सैद्धान्तिक कक्षा, व्यावहारिक अभ्यास, समूह छलफल, प्रस्तुति र अन्तरक्रिया समेत गरिएको थियो।
सो तालिम कार्यक्रममा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, बाँके, पाल्पा, गुल्मी र प्युठान गरी ६ जिल्लाका सामुदायिक तथा सार्वजनिक एवम् शैक्षिक पुस्तकालयमा कार्यरत २० जना कर्मचारी तथा पुस्तकालयकर्मीको सहभागिता रहेको थियो ।
तालिम कार्यक्रमको शुभारम्भ लुम्बिनी प्रदेशका माननीय प्रदेश सांसद डिल्ली प्रसाद भुषालले गर्नुभएको थियो भने समापनको अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ, गुल्मीका इकाइ प्रमुख श्री थानेश्वर घिमिरेले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो । तालिम कार्यक्रमको शुभारम्भ र समापन किरण पुस्तकालयका अध्यक्ष श्री शशि पन्थीको अध्यक्षतामा सञ्चालन भएको थियो ।