१९औँ पुस्तकालय दिवसका अवसरमा ‘ई–पुस्तकालय प्रवेश कार्ड’ शुभारम्भ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न

None

१९औँ राष्ट्रिय पुस्तकालय दिवस २०८३ का अवसरमा नेपाल राष्ट्रिय पुस्तकालय, सानोठिमी भक्तपुरले आधुनिक प्रविधिलाई आत्मसात गर्दै ‘इ-पुस्तकालय प्रवेश कार्ड (e-Library Entry Card) सेवाको औपचारिक शुभारम्भ गरेको छ। यसका साथै पुस्तकालय परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रमसमेत सम्पन्न गरिएको छ।

“बाल, युवा र वृद्ध: पुस्तकालय सबैको गन्तव्य” भन्ने राष्ट्रिय मूल नाराका साथ आयोजित यस विशेष समारोहको मुख्य उद्देश्य पाठकहरूलाई डिजिटल प्रणालीमार्फत पुस्तकालयका सेवाहरूमा सहज, छिटो र प्रभावकारी पहुँच सुनिश्चित गर्नु रहेको थियो।

कार्यक्रममा सार्वजनिक गरिएको ‘इ-पुस्तकालय प्रवेश कार्ड प्रणालीमार्फत अब सेवाग्राहीहरूले भौतिक रूपमा पुस्तकालयमै उपस्थित नभई घरमै बसेर कार्ड बनाउन सक्ने व्यवस्था मिलाइएको छ। पाठकहरूले पुस्तकालयको आधिकारिक पोर्टल nnl.gov.np मा गई आवश्यक व्यक्तिगत विवरण तथा परिचयपत्र अपलोड गरेर अनलाइन आवेदन दिन सक्नेछन्। पुस्तकालय प्रशासनबाट आवेदन स्वीकृत भएपछि उपलब्ध हुने क्युआर कोड (QR Code) सहितको डिजिटल कार्ड डाउनलोड गरी पाठकहरूले अध्ययन, पुस्तक खोजी तथा पुस्तकालय प्रवेशका लागि सहज रूपमा प्रयोग गर्न सक्नेछन्। यसले समयको बचत गर्नुका साथै सूचना प्रविधिको अधिकतम उपयोग गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

सोही अवसरमा पुस्तकालय परिसरमा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम आयोजना गरियो। कार्यक्रमका प्रमुख अतिथि शिक्षा विभागका महानिर्देशक श्री अणप्रसाद न्यौपाने, नेपाल राष्ट्रिय पुस्तकालयका प्रमुख श्री दशरथ मिश्र, शिक्षा विभागका निर्देशक श्री अरुण कुमार राई एवं कर्मचारीहरूको सहभागितामा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। ज्ञानको केन्द्रका रूपमा रहेको पुस्तकालय परिसरलाई हरियालीयुक्त, स्वच्छ, सुन्दर तथा आकर्षक बनाउने उद्देश्यले उक्त वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो।